

पोखरा। आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई नियमित हवाई उडानलाई दीर्घकालीन र दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच महत्वपूर्ण छलफल भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सफल बनाउन सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका पदाधिकारीसँग भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा–दुबई उडानलाई दिगो र प्रभावकारी बनाउने तयारी तीव्र रूपमा अघि बढाइएको बताए।
उनले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायको सक्रिय सहयोगले मात्रै यो सेवा दीर्घकालसम्म सफल हुने उल्लेख गर्दै पोखराबाट विश्वसँगको हवाई पहुँच विस्तार हुने विश्वास व्यक्त गरे।
महाप्रबन्धक शाहीका अनुसार दुबई हुँदै पोखराबाट लन्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज हवाई सम्पर्क स्थापित हुनेछ। यसबाट गण्डकी प्रदेशसहित आसपासका जिल्लाका यात्रु, पर्यटन व्यवसाय र समग्र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका नेपालस्थित महाप्रबन्धक रमेश लामिछानेले पनि सेवा दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल बनाउन सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए।
यसैबीच, रेवान पोखरा र फ्लाइ दुबईका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक साझेदारी तथा आपसी हितका विविध विषयमा पनि विस्तृत छलफल भएको थियो। बैठकमा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न निजी क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक नियमित उडान सञ्चालनका लागि अनुमति दिएको थियो। त्यसलगत्तै कम्पनीले उडान तालिका सार्वजनिक गर्दै प्रारम्भमा दैनिक एक उडान गर्ने र सन् २०२७ को मार्च २६ सम्मका लागि अग्रिम बुकिङ खुला गरिसकेको जनाएको छ।
उडान सञ्चालनअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी र सञ्चालन व्यवस्थाको विस्तृत निरीक्षणसमेत सम्पन्न गरेको थियो।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाइ दुबईले नियमित उडान अनुमति पाएको हो।
झन्डै २२ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुन सकेको थिएन। छिमेकी मुलुकबाट हुने सीमित चार्टर उडानबाहेक नियमित सेवा नहुँदा विमानस्थलको पूर्ण उपयोग हुन सकेको थिएन।
अब फ्लाइ दुबईको नियमित उडानसँगै पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिने अपेक्षा गरिएको छ। यसले विदेशी पर्यटक आगमन, पर्यटन उद्योगको विस्तार, वैदेशिक रोजगारीमा जाने श्रमिकको आवतजावत तथा समग्र गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास पर्यटन व्यवसायीहरूले गरेका छन्।