

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल आह्वान गरिएको छ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने जनाइएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण गरिने व्यवस्था गरिएको छ।
बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँका लागि आवेदन दिनुपर्नेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिनेछ।
जारी गरिने ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलबाट स्वीकृत भएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यद्यपि, यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको छ।