

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार दुई दिनको वृद्धिपछि नेप्से ८.३० अंकले घट्दै २,६५३.४० बिन्दुमा कायम भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.६५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९० अंकले ओरालो लागेको छ।
परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३४५ वटा स्टकका ८५ लाख ८४ हजार कित्ता सेयर ४६ हजार २३४ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ।
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्य अधिकतम सीमासम्म बढेको हो। त्यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य करिब १५ प्रतिशत र खानी खोला हाइड्रोपावरको ११.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रिकल्चरल बन्ड शीर्ष स्थानमा रह्यो। उक्त बन्डको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ रहेको छ, जसको करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट को साढे १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ १३ उपसमूहमध्ये पाँच उपसमूहमा वृद्धि भएको छ भने आठ उपसमूहमा गिरावट आएको छ। वित्त उपसमूह सर्वाधिक १.०६ प्रतिशतले बढेको छ। विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूह पनि सामान्य रूपमा उकालो लागेका छन्। यता, बैंकिङ उपसमूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ। यस समूहको परिसूचक ०.९६ प्रतिशतले घटेको छ।