

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार र शुक्रबार गरी सुनको मूल्य प्रतितोला १२ हजार ४ सय रुपैयाँले बढेको थियो। त्यसअघि लगातार तीन दिनमा भने सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँ थियो।
नेपाली बजारमा हालसम्मकै उच्च सुनको मूल्य माघ १५ गते कायम भएको थियो। त्यसदिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य पनि माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। त्यसको तीन दिनपछि माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।