लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार ४ अर्ब नाघ्यो

लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार ४ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि हरियो रहँदै लगातार दोस्रो दिन वृद्धि भएको छ। नेप्से ८.७८ अंकले बढेर २,६६१.७१ बिन्दुमा पुगेको हो। बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यस दिन ३५९ वटा धितोपत्रका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच भएका छन्।

कारोबार भएका कम्पनीमध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अप्पर लोहोरो खोला हाइड्रोपावर र कालंगा हाइड्रोपावरको सेयर मूल्य १५–१५ प्रतिशतले बढेको छ। त्यसैगरी स्नो रिभर्स १४.९९ प्रतिशत र सानिगाड हाइड्रोपावर १४.९७ प्रतिशतले उकालो लागेको छ।

यता, सबैभन्दा धेरै मूल्य घट्नेमा १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ रहेको छ। उक्त डिबेन्चरको मूल्य १०.६० प्रतिशतले घटेर प्रतिइकाइ १ हजार १३० रुपैयाँमा झरेको छ। भुजुङ हाइड्रोपावरको सेयर मूल्य पनि ९.४३ प्रतिशतले घटेर प्रतिकित्ता ८१५ रुपैयाँ १० पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। बैंकको २२२ रुपैयाँ प्रतिकित्ताका दरले ४१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १.३७ प्रतिशतले बढेको छ।

त्यसैगरी, कारोबार रकमका आधारमा दोस्रो स्थानमा १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ रहेको छ। उक्त डिबेन्चरको ४० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहमा वृद्धि भएको छ भने आठ समूहमा गिरावट आएको छ। समूहगत सूचकमध्ये बैंकिङ क्षेत्रले सर्वाधिक २.०४ प्रतिशतको वृद्धि दर्ज गर्दै बजारलाई सकारात्मक दिशामा अघि बढाउन प्रमुख भूमिका खेलेको छ।