सुस्ताबासीको माइतीघरमा धर्ना, नागरिकता र भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग

सुस्ताबासीको माइतीघरमा धर्ना, नागरिकता र भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग

काठमाडौं । भारतीय सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

सुस्ताको माटो बोकेर राजधानी आएका उनीहरूले भारतीय पक्षबाट निरन्तर दबाब र प्रताडना भोग्नुपरेको गुनासो गर्दै सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीले भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सीमा सुरक्षा व्यवस्था सुदृढ बनाउन, सुस्ताका बासिन्दालाई नेपाली नागरिकता उपलब्ध गराउन तथा आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र प्रताडना सामना गर्नुपरेको छ।

‘सुस्ता बचाउ अभियान’को आह्वानमा सुरु गरिएको धर्ना कार्यक्रममा सहभागीहरूले आफ्ना समस्या सुनाउन पटक–पटक प्रधानमन्त्रीको सचिवालयसँग समय माग्दा पनि भेटको अवसर नपाएको गुनासो गरेका छन्।

सुस्ताबासीले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।