आज पनि देशभर वर्षाको सम्भावना, काठमाडौंमा दिउँसोपछि मध्यम वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, काठमाडौंमा दिउँसोपछि मध्यम वर्षा हुने अनुमान

काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज (मंगलबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति देशका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहानैदेखि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशको आकाश पूर्णरूपमा बादलले ढाकिएको छ।

महाशाखाले आज बिहान ८ बजे सार्वजनिक गरेको पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराईका केही क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा सक्रिय रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। देशका अधिकांश पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने र कोशीका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ।

यसका साथै मधेश प्रदेश तथा बागमती र कर्णालीका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

काठमाडौं उपत्यकामा दिउँसोपछि वर्षा

काठमाडौं उपत्यकामा पनि आज अपराह्नदेखि मौसम फेरिने सम्भावना रहेको मौसमविद् दाहालले बताएका छन्। उनका अनुसार बिहानदेखि नै बादल लागेकाले छिटफुट वर्षा हुन सक्ने भए पनि अपराह्न, साँझ र रातिको समयमा मध्यम वर्षा हुने सम्भावना बढी छ।

‘बिहान उपत्यकामा छिटपुट वर्षा भए पनि अहिले रोकिएको छ। दिनभर घाम र बादल पालैपालो देखिनेछ, तर दिउँसोपछि फेरि बादल बाक्लिने र राम्रो वर्षा हुने सम्भावना रहेको छ,’ मौसमविद् दाहालले बताए।