कोशी प्रदेशमा मनसुनको प्रभाव, विभिन्न क्षेत्रमा वर्षा र चट्याङसहित पानी पर्ने सम्भावना

कोशी प्रदेशमा मनसुनको प्रभाव, विभिन्न क्षेत्रमा वर्षा र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यही प्रणालीको प्रभावका कारण सोमबार बिहानदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ। महाशाखाका अनुसार झापास्थित चन्द्रगढीमा पछिल्लो एक घण्टामा ११.८ मिलिमिटर वर्षा मापन गरिएको छ भने संखुवासभाको नुम क्षेत्रमा ९.४ मिलिमिटर वर्षा भएको छ। ताप्लेजुङ, सोलुखुम्बु र सुनसरीका विभिन्न स्थानमा पनि वर्षा जारी रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

त्यस्तै, कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको प्रभाव कायम रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुने तथा तातो दिन रहने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा, चट्याङ तथा तातो लहरबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।