

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशबाट प्रवेश गरेपछि क्रमशः विस्तार हुँदै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार ५ असारमा कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन ८ असारसम्म आइपुग्दा कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा फैलिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, “यस वर्षको मनसुन प्रणाली ८ असारसम्म कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा विस्तार भएको छ।”
नेपालमा मनसुन भित्रिने औसत मितिभन्दा यस वर्ष ६ दिन ढिलो गरी ५ असारमा मनसुन प्रवेश गरेको थियो। सामान्यतया मनसुन नेपालमा जुन १३ (जेठ अन्तिम सातातिर) प्रवेश गर्ने गर्छ।
महाशाखाका अनुसार हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेको छ। त्यसैले देशका बाँकी भूभागमा मनसुन पूर्ण रूपमा फैलिन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले मनसुन विस्तारसँगै पूर्वी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्न सक्ने जनाउँदै सम्भावित वर्षाजन्य जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन्।