

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ मूल्य बराबरको ७ लाख ११ हजार ५२० टन धान–चामल विदेशबाट आयात गरिएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको ७ लाख ५३ हजार ३०५ टन धान–चामल आयात भएको थियो। यस आधारमा चालु वर्ष आयात परिमाण र मूल्य दुवैमा सामान्य गिरावट देखिएको छ।
कच्चा धान आयातमा उल्लेख्य कमी आएको छ। गत वर्ष १९ अर्ब ९९ करोड ९ लाख रुपैयाँ बराबरको ५ लाख २१ हजार २६९ टन कच्चा धान आयात भएको थियो भने चालु वर्ष यो घटेर ४ लाख ६१ हजार १०८ टनमा सीमित भएको छ। यसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ।
यद्यपि, धानको बिउ आयात भने बढेको छ। गत वर्ष १ अर्ब १६ करोड ६२ लाख रुपैयाँ बराबरको २ हजार ५७० टन बिउ आयात भएकोमा चालु वर्ष १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९९३ टन बिउ आयात गरिएको छ।
बासमती चामलको आयात पनि वृद्धि भएको छ। गत वर्ष ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बराबरको ६६ हजार ३९७ टन बासमती चामल आयात भएकोमा चालु वर्ष ७ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बराबरको ६७ हजार ६६७ टन आयात भएको छ।
त्यस्तै, अन्य सामान्य चामलको आयात १० अर्ब २३ करोड ५९ लाख रुपैयाँबाट बढेर ११ अर्ब ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परिमाणका हिसाबले पनि १ लाख ५६ हजार २६१ टनबाट बढेर १ लाख ७१ हजार ५४ टन पुगेको छ।
तथ्यांकले स्वदेशमै धान प्रशोधन गरेर चामल उत्पादन गर्नुको सट्टा विदेशबाटै तयारी चामल आयात गर्ने प्रवृत्ति बढ्दै गएको संकेत गरेको छ।
कनिका (ब्रोकन राइस) र ब्राउन राइसको आयात पनि बढेको छ। कनिकाको आयात गत वर्षको २८ करोड ५ लाख रुपैयाँ बराबर ६ हजार ८०२ टनबाट बढेर ३५ करोड १ लाख रुपैयाँ बराबर ८ हजार ६८९ टन पुगेको छ। ब्राउन राइसको आयात पनि ४.३५ टनबाट बढेर ७.०७ टन पुगेको विभागको तथ्यांकमा उल्लेख छ।
यता, धान–चामल आयातबाट सरकारले प्राप्त गर्ने राजस्व भने घटेको छ। गत आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालु वर्ष सोही अवधिमा २ अर्ब ६१ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।
कच्चा धानको आयात घट्दै र तयारी चामलको आयात बढ्दै जानुले नेपालको कृषि उत्पादन, प्रशोधन उद्योग तथा खाद्य आत्मनिर्भरतासम्बन्धी नीतिमा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ।