

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिन सक्ने संकेत देखिएको छ। बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला पार्टी प्रवक्ता मनिष झाले महाधिवेशन एक दिनसम्म थपिन सक्ने सम्भावनाबारे आफूहरू पहिलेदेखि नै तयार रहेको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले विभिन्न कारणले कार्यक्रम तालिकामा ढिलाइ हुन सक्ने विषयमा केन्द्रीय समितिको अघिल्लो बैठकमै छलफल भएको जानकारी दिए।
उनले भने, “बन्दसत्र ढिला हुँदैमा हामी आतिएका छैनौँ। यसलाई स्वाभाविक रूपमा लिएका छौँ। विभिन्न कारणले महाधिवेशन एक दिन लम्बिन सक्छ भन्ने विषयमा केन्द्रीय समितिको बैठकमै छलफल भएको थियो। त्यसकारण हामी मानसिक रूपमा तयार छौँ।”
प्रवक्ता झाले महाधिवेशन प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको जानकारी दिए। उनका अनुसार सोमबार बिहानसम्म प्रतिनिधिको संख्या करिब ४ हजार ३ सय पुगेको छ।
यद्यपि मधेश प्रदेशबाट केही प्रतिनिधि छुटेको जानकारी आएको र उनीहरूलाई समावेश गर्ने विषयमा आवश्यक गृहकार्य भइरहेको उनले बताए।
“बन्दसत्र सुरु हुन्छ, तर केही ढिलाइ भइसकेको छ। अहिले हिजोको सूचीका आधारमा दर्ता प्रक्रिया अघि बढाएका छौँ। छुटेका प्रतिनिधिहरूलाई समावेश गर्ने काम अर्को टोलीले गरिरहेको छ,” उनले भने।
प्रतिनिधिको संख्या बढ्नु, दर्ता प्रक्रिया लम्बिनु तथा विभिन्न व्यवस्थापकीय कारणले महाधिवेशनको कार्यतालिकामा केही परिवर्तन हुन सक्ने रास्वपा नेतृत्वले जनाएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन, विधान संशोधन तथा विभिन्न राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल तथा निर्णय गरिनेछ।