

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रश्न उठाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा सार्वजनिक गरिएको सदस्यता विवरणप्रति सभामुखको ध्यानाकर्षण गराएकी हुन्।
उनले रास्वपाको सार्वजनिक तथ्यांकअनुसार १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गर्दै यसबारे सरकारसँग स्पष्ट जवाफ मागिन्। सांसद काउँचाले संविधान र प्रचलित कानुनले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था गरेको स्मरण गराउँदै १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य दण्डनीय हुने बताइन्।
उनले भनिन्, “१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने र राजनीतिक गतिविधिमा सहभागी गराउने कार्यमा जरिवाना तथा कैद सजायको व्यवस्था छ। के रास्वपा संविधानभन्दा माथि हो?” सांसद काउँचाले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले रास्वपाको महाधिवेशनबाट निर्वाचित नेतृत्वले बालबालिकाको सदस्यताका आधारमा वैधानिकता प्राप्त गरेको आरोपसमेत लगाउँदै विद्यार्थी राजनीतिप्रति सरकारले अपनाइरहेको नीतिसँग यसको तुलना गरिन्। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ ज्ञानेन्द्र शाही बाहेक विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डीपी अर्याल ले विपक्षी दलका सांसदलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका थिए।