देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही भूभागमा तातो हावाको प्रभाव कायम

देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही भूभागमा तातो हावाको प्रभाव कायम

काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहे पनि तराईका केही भूभागमा तातो हावा र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। अन्य भूभागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ।

देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा सामान्यतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

महाशाखाले तातो हावा र उच्च तापक्रमको प्रभाव रहने क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन आग्रह गरेको छ।