

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज सञ्चालन हुने भएको छ। यसका लागि बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको छ।
यसअघि सोमबार बिहान ८:३० बजेबाट बन्दसत्र सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले एक दिन ढिलाइ भएको पार्टीले जनाएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रदेशबाट प्राप्त महाधिवेशन प्रतिनिधिको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइको कार्य नसकिएकाले बन्दसत्र सारिएको हो। उनका अनुसार महाधिवेशन प्रतिनिधि कार्ड छपाइ सम्पन्न भएपछि परिचयपत्र वितरण र त्यसपछि बन्दसत्र सुरु गरिनेछ।
महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रक्रियागत विवाद नआओस् भन्नेमा पार्टी सचेत रहेको उनले बताए। केही ढिलाइ भए पनि आवश्यक सबै व्यवस्थापन पूरा गरेर कार्यक्रम अघि बढाइने उनले जानकारी दिए।
यसअघि सोमबार साँझदेखि कार्ड छपाइ सम्पन्न गरी वितरण सुरु गरिएको थियो। सातै प्रदेश, समायोजन तथा प्रवासबाट आएका प्रतिनिधिका कार्ड छुट्टाछुट्टै केन्द्रबाट वितरण गरिने व्यवस्था गरिएको छ।
बन्दसत्र सुरु भएपछि पूर्वनिर्धारित कार्यतालिकाअनुसार विभिन्न प्रतिवेदन प्रस्तुत हुनेछन्। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यसपछि कोषाध्यक्ष लिम्बा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यसपछि सहमहामन्त्रीहरूले विधानमाथि छलफल गरिने र त्यसको अनुमोदन गर्ने कार्यक्रम रहेको छ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
कार्यक्रमअन्तर्गत सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावना रहेको छ।
यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका सार्वजनिक गर्नेछ।
आइतबार गेस्टहाउस चौरमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र चितवनको उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।