

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। पौडेलकी पत्नी निवेदक बनेर दायर गरिएको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा कुनै ठोस प्रमाण र कानुनी आधारबिना पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ। रिटमार्फत पौडेललाई तत्काल रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको शेयर कारोबारमा चिनजान गराइदिएको भन्ने बयानका आधारमा पौडेललाई पक्राउ गरेको थियो। विभागको अनुरोधमा अदालतले मंगलबार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
पौडेललाई सोमबार सुर्खेतमा पार्टी कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। त्यसपछि उनलाई रातारात सार्वजनिक यातायातमार्फत काठमाडौं ल्याइएको थियो।
उक्त घटनापछि एमालेले पनि पक्राउ प्रक्रियाको विरोध गर्दै यसलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणाम भएको आरोप लगाएको छ। यता अनुसन्धान निकायले भने कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको जनाएको छ।