रास्वपा महाधिवेशनः ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढी उम्मेदवारी

रास्वपा महाधिवेशनः ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढी उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा ९९ केन्द्रीय सदस्य पदका लागि ३७० भन्दा बढी उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताको क्रममा केही नाम दोहोरिएको (डुप्लिकेसन) देखिएकाले त्यसको रुजु तथा सच्याउने काम भइरहेको छ। साथै उम्मेदवारमाथि परेको दाबी–विरोधको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ।

निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार डुप्लिकेसन हटाउने तथा दाबी–विरोधको टुंगो लगाउने काम जारी छ। अन्तिम नामावली प्रकाशनपछि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।

उनले मतदान प्रक्रियाबारे जानकारी दिँदै एक जना प्रतिनिधिले मतदान गर्न करिब १० मिनेट समय लाग्ने बताए। मतगणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गर्न करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। सभापति पदमा अन्य उम्मेदवारी नपरेपछि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि अपेक्षाभन्दा धेरै उम्मेदवारी परेपछि प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।