न्युजिल्यान्डमाथि पुनरागमन जित निकाल्दै इजिप्टले रच्यो विश्वकप इतिहास

न्युजिल्यान्डमाथि पुनरागमन जित निकाल्दै इजिप्टले रच्यो विश्वकप इतिहास

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न समूह ‘जी’ को खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। भ्यान्कुभरस्थित बीसी प्लेस रंगशालामा भएको खेलमा सुरुआती अग्रता न्युजिल्यान्डले लिएको थियो। खेलको १५औँ मिनेटमा फिन सुरम्यानले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा पछि परेको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गर्‍यो। खेलको ५८औँ मिनेटमा मुस्ताफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि ६७औँ मिनेटमा कप्तान मोहम्मद सलाहले आकर्षक गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ट्रेजेगुएले अर्को गोल थपेपछि इजिप्टले ३–१ को महत्वपूर्ण जित सुनिश्चित गर्‍यो।

यो जित इजिप्टका लागि विश्वकप इतिहासमै पहिलो जित हो। साथै, विश्वकपको एकै खेलमा तीन गोल गर्न सफल भएको पनि इजिप्टको इतिहासमा पहिलो पटक हो।

जितसँगै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलबाट ४ अंक जोडेको इजिप्ट समूहको अग्रस्थानमा पुगेको हो। न्युजिल्यान्ड भने १ अंकसहित चौथो स्थानमा झरेको छ। यस समूहमा इरान र बेल्जियमको समान २–२ अंक रहेको छ, जसले समूहको नकआउट चरणको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।