उरुग्वेलाई रोक्दै केपभर्डेको ऐतिहासिक प्रदर्शन, खेल २–२ को बराबरीमा सकियो

उरुग्वेलाई रोक्दै केपभर्डेको ऐतिहासिक प्रदर्शन, खेल २–२ को बराबरीमा सकियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेलाई २–२ को बराबरीमा रोक्दै प्रभावशाली प्रदर्शन गरेको छ।

सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वेविरुद्ध केपभर्डेले उत्कृष्ट खेल प्रस्तुत गर्दै महत्वपूर्ण एक अंक हासिल गरेको हो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको केपभर्डेले यस खेलमार्फत प्रतियोगितामा आफ्नो पहिलो गोलसमेत दर्ता गराएको छ।

खेलको ४३औँ मिनेटमा केभिन पियानले गोल गर्दै केपभर्डेलाई अग्रता दिलाएका थिए। तर त्यसको एक मिनेटपछि नै उरुग्वेका मेक्सी अराजाओले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिन क्यानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा केपभर्डेले पुनः उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ६०औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो।

यसअघि विश्वकपको पहिलो खेलमा केपभर्डेले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा उरुग्वेविरुद्ध दुई गोल गर्दै उसले आफ्नो प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको छ। यस बराबरीसँगै केपभर्डे र उरुग्वे दुवैले समान २–२ अंक जोडेका छन्। समूहमा नकआउट चरणको सम्भावना जीवित राख्न दुवै टोलीका लागि अन्तिम खेल निर्णायक बन्नेछ।