

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन ५ अंकले घटेको बजार शुक्रबार १.६३ अंकले उकालो लाग्दै २७०२ अंकमा कायम भएको हो।
पछिल्ला केही दिनयता बजारमा ठूलो उतारचढाव नदेखिएको अवस्थामा शुक्रबार नेप्से २६९२ देखि २७११ अंकको सीमाभित्र कारोबार भएको थियो।
यस दिन कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत सूचकमा सामान्य उतारचढाव देखिएको छ।
समूहगत प्रदर्शनतर्फ बैंकिङ ०.०८ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत तथा अन्य समूह ०.२९ प्रतिशतले घटेका छन्। यता फाइनान्स ०.६६ प्रतिशत, व्यापार ०.७५ प्रतिशत, जीवन बीमा ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत, लगानी ०.११ प्रतिशत, जलविद्युत् ०.०९ प्रतिशत तथा माइक्रोफाइनान्स ०.०२ प्रतिशतले वृद्धि भएका छन्।
यस दिन पनि नयाँ सूचीकृत कम्पनी सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर को सेयर मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। मूल्य वृद्धिसँगै सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य १०६० रुपैयाँ र एपोलो हाइड्रोपावरको ९१६ रुपैयाँ पुगेको छ।
त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स को सेयर मूल्य ९.०८ प्रतिशत, रिलायन्स फाइनान्स को ६.७२ प्रतिशत र गुराँस लघुवित्त को ४.५५ प्रतिशतले बढेको छ।
घट्ने कम्पनीतर्फ बुंगल हाइड्रोपावर को मूल्य १२.४५ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्त १०.२१ प्रतिशत र सालपा विकास बैंक ३.२८ प्रतिशतले ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा शुक्रबार सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर तथा बुंगल हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।