

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै १८ वटा उपसमिति गठन गरेको छ।
पार्टीले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र व्यवधानरहित रूपमा सम्पन्न गर्न विभिन्न विषयगत उपसमिति गठन गरेको हो। तीमध्ये १७ वटा उपसमितिमा संयोजक तोकिएको छ भने अनुशासन उपसमितिको जिम्मेवारी केन्द्रीय अनुशासन आयोगका सदस्यहरूलाई दिइएको छ।
रास्वपाले कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रतिवेदन समन्वय उपसमितिमा भूपदेव शाह, गुनासो व्यवस्थापन उपसमितिमा विपिनकुमार आचार्य र आर्थिक व्यवस्थापन उपसमितिमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिएको छ।
त्यस्तै महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक लिमा अधिकारी, कानुनी समन्वय उपसमितिको संयोजक सुलभ खरेल, प्रचारप्रसार तथा सञ्चार समन्वय उपसमितिको संयोजक मनीष झा र सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमितिको संयोजक दीपकराज बोहरा तोकिएका छन्।
सूचना प्रविधि उपसमितिको नेतृत्व सरिता ज्ञवालीले गर्नेछिन् भने आवास तथा भोजन व्यवस्थापन उपसमितिको संयोजक राजन गौतम (चितवन) रहेका छन्। अतिथि सत्कार उपसमितिको जिम्मेवारी ध्रुव गिरीलाई दिइएको छ।
यसैगरी हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजक खुश्बु सरकार श्रेष्ठ, स्वास्थ्य सेवा उपसमितिको संयोजक डा. तोसिमा कार्की, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजक मोहनबहादुर थापा तथा यातायात व्यवस्थापन उपसमितिको संयोजक शिव नेपालीलाई बनाइएको छ।
स्थानीय समन्वय उपसमितिको नेतृत्व हरि ढकालले गर्नेछन् भने अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमितिको संयोजक गणेश पराजुली रहेका छन्।
रास्वपाले अनुशासन उपसमितिमा केन्द्रीय अनुशासन आयोगका सबै सदस्यसँगै विनिता कठायत, लक्ष्मण थारु, खगेन्द्र सुनार, अनन्तराज घिमिरे, खेमराज साउद, रिमा विश्वकर्मा र श्रीराम न्यौपानेलाई समावेश गरेको छ।
चितवनमा आयोजना हुने महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ।