काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ८८ करोड ३० लाखको बजेट, पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ८८ करोड ३० लाखको बजेट, पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्ने र ७५ करोड रुपैयाँ बाह्य व्ययभार हुने गरी बजेट प्रस्ताव गरेको हो। चालु आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरिएको थियो।

कार्यवाहक मेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको बताइन्। त्यस्तै संघीय तथा प्रदेश सरकारबाट समानीकरण, ससर्त अनुदान र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट १ करोड रुपैयाँ जुट्ने अनुमान पनि गरिएको छ।

क्षेत्रगत विनियोजनअनुसार सबैभन्दा बढी बजेट पूर्वाधार विकास क्षेत्रमा छुट्याइएको छ। यस क्षेत्रमा कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सामाजिक विकासतर्फ ९.६ प्रतिशत (२ अर्ब ४२ करोड २७ लाख ३१ हजार), आर्थिक विकासतर्फ २.१ प्रतिशत (५४ करोड १८ लाख २० हजार) र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८.५ प्रतिशत (२ अर्ब १३ करोड ४७ लाख ९२ हजार) बजेट प्रस्ताव गरिएको छ।

त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ छुट्याइएको महानगरले जनाएको छ।