सक्रिय राजनीतिबाट बिदा लिएको महराको घोषणा

सक्रिय राजनीतिबाट बिदा लिएको महराको घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई अब साधारण सदस्यका रूपमा मात्रै रहने जानकारी दिएका हुन्।

महराले आफ्नो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाका कारण बाध्यतात्मक रूपमा गरिएको स्पष्ट पारेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, “आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु।”

उनले पार्टी जीवन, आन्दोलनका अनुभव र सहकर्मीहरूसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै देश र जनताप्रतिको प्रतिबद्धता जीवनभर रहने उल्लेख गरेका छन्। ‘मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता र जनताप्रतिको माया अन्तिम श्वाससम्म जीवित रहनेछ,’ उनले भनेका छन्।

महराले पछिल्लो केही वर्षदेखि एट्रोफी (नसाहरू र मांसपेशी क्रमशः खुम्चिने) रोगबाट पीडित रहेको समेत जानकारी दिएका छन्। नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्था अपेक्षाकृत सुधार हुन नसकेको कारण सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनले बताएका छन्।

स्वास्थ्य समस्याका कारण पार्टीका दैनिक गतिविधि र जिम्मेवारीमा पहिलेझैँ सक्रिय रूपमा योगदान गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्।