तीन वर्षका लागि १० खर्ब रुपैयाँ बराबरको ठेक्का खुलाउने तयारीमा सरकार : मन्त्री लम्साल

तीन वर्षका लागि १० खर्ब रुपैयाँ बराबरको ठेक्का खुलाउने तयारीमा सरकार : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षभित्र करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइने बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि बहुवर्षीय योजना अन्तर्गत तीन वर्षका लागि एकैपटक ठेक्का आह्वान गर्न लागिएको जानकारी दिए।

उनका अनुसार ठेक्का सम्झौता हाल कायम रहेको दररेटका आधारमा गरिनेछ भने निर्माण अवधिमा हुने मूल्यवृद्धिलाई स्वचालित रूपमा समायोजन गर्ने व्यवस्था समेत गरिनेछ। मन्त्री लम्सालले चालु आर्थिक वर्षमा बजेट अपेक्षाकृत कम देखिनुको मुख्य कारण प्रारम्भिक चरणमा ठेक्का प्रक्रियामै समय खर्चिनु रहेको बताए। उनका अनुसार पहिलो छ महिनासम्म ठेक्का व्यवस्थापनको काममा केन्द्रित हुनुपर्ने भएकाले बजेट खर्चको गति सुरुवाती चरणमा कम देखिन सक्छ।

उनले तीन वर्षका लागि छुट्टाछुट्टै ठेक्का निकाल्दा सामान्यतया २० देखि २२ महिना लाग्ने प्रक्रिया अब एकैपटक सम्पन्न गरिने भएकाले समयको उल्लेखनीय बचत हुने दाबी गरे। “बहुवर्षीय ठेक्का प्रणालीमार्फत २०-२२ महिना लाग्ने काम ६-७ महिनामै सम्पन्न गर्न सकिन्छ, जसले आयोजना कार्यान्वयनलाई तीव्र बनाउँछ,” उनले भने। मन्त्री लम्सालले नयाँ व्यवस्थाले विकास निर्माणका काममा हुने ढिलाइ कम गर्दै पूर्वाधार परियोजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।