तीन वर्षभन्दा बढी मन्त्री नबस्ने महावीर पुनको घोषणा, विज्ञान क्षेत्रमा लगानी बढाउन आग्रह

तीन वर्षभन्दा बढी मन्त्री नबस्ने महावीर पुनको घोषणा, विज्ञान क्षेत्रमा लगानी बढाउन आग्रह

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू तीन वर्षभन्दा बढी समय मन्त्री पदमा नरहने बताएका छन्। उनले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको आधार निर्माण गरेर जिम्मेवारी हस्तान्तरण गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे।

बिहीबार प्रतिनिधिसभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले नवप्रवर्तन र आविष्कारलाई संस्थागत गर्न आवश्यक कानुन निर्माणमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे। उनले मन्त्रालयले शून्य अवस्थाबाट काम सुरु गर्नुपरेको उल्लेख गर्दै आवश्यक नीतिगत तथा कानुनी आधार तयार गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

मन्त्री पुनले विज्ञान तथा प्रविधिको विकासका लागि नै आफू सरकारमा आएको भन्दै यस क्षेत्रको दीर्घकालीन आधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म तीन वर्षभन्दा बढी मन्त्री भएर बस्दिनँ। त्यस अवधिमा विज्ञान र नवप्रवर्तनको जग बसाल्ने प्रयास गर्नेछु। त्यसपछि यो अभियानलाई अगाडि बढाउने नयाँ नेतृत्व तयार हुनुपर्छ।”

उनले मन्त्रालयमा दक्ष र सक्षम प्रशासनिक नेतृत्व आवश्यक रहेको पनि बताए। विज्ञान तथा प्रविधि क्षेत्रको महत्वलाई ध्यानमा राख्दै अनुभवी र काम गर्न सक्ने सचिव खटाइनुपर्ने उनको धारणा थियो।

पुनले लामो समयदेखि देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को कम्तीमा एक प्रतिशत रकम विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गर्नुपर्ने माग गर्दै आएको स्मरण गराए। हाल नेपालको जीडीपी ६५ खर्ब रुपैयाँभन्दा बढी रहेको उल्लेख गर्दै उनले यसको एक प्रतिशत बराबर करिब ६५ अर्ब रुपैयाँ विज्ञान तथा प्रविधिमा लगानी गर्न सके देशले आविष्कार र नवप्रवर्तनमा ठूलो फड्को मार्न सक्ने बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा त्यति बजेट विनियोजन नभए पनि आगामी वर्षहरूमा क्रमशः वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता छ। “जीडीपीको एक प्रतिशत विज्ञान तथा प्रविधिमा छुट्याउन सकियो भने मात्रै देशले वास्तविक रूपमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा छलाङ मार्ने आधार तयार हुन्छ,” मन्त्री पुनले भने।