

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
बैठकमा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गरेका खर्च कटौती प्रस्तावहरू सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ। त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यससँगै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्नेछ।