गर्मीको याममा पनि सौराहामा पर्यटकको भीड

गर्मीको याममा पनि सौराहामा पर्यटकको भीड

काठमाडाैं । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी व्यवस्थाको प्रभाव पर्यटन क्षेत्रमा देखिन थालेको छ। विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेसँगै चितवनको सौराहा यतिबेला निकै चलायमान बनेको छ।

सामान्यतया गर्मीका कारण यो समयलाई आन्तरिक पर्यटनको प्रमुख याम मानिँदैन। तर दुईदिने बिदाको अवसर पारेर घुम्न निस्किनेको संख्या बढेपछि सौराहाका होटल, रिसोर्ट र रेष्टुराँहरू आन्तरिक पर्यटकले भरिएका छन्। जिप सफारी, हात्ती सफारी तथा अन्य पर्यटकीय गतिविधिमा समेत उल्लेख्य भीड देखिएको छ।

प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि परिचित चितवन लामो समयदेखि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित छ। वन्यजन्तु अवलोकन, जलविहार, चरा अवलोकन र थारु संस्कृति यहाँका प्रमुख आकर्षण हुन्।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाका अनुसार दुईदिने बिदाले आन्तरिक पर्यटनमा सकारात्मक प्रभाव पारेको छ। गर्मीको मौसम भए पनि मानिसहरू बिदाको सदुपयोग गर्दै परिवारसहित चितवन भ्रमण गर्न आउने क्रम बढेको उनले बताए।

उनका अनुसार केही समयअघि लगातार चार दिन बिदा पर्दा धेरै पर्यटकले सौराहा, लुम्बिनी र पोखरालाई समेटेर भ्रमण गरेका थिए। यसले आन्तरिक पर्यटनको सम्भावना अझ उजागर गरेको उनको भनाइ छ।

पर्यटकको सुविधाका लागि हाल ३० वटा हात्ती सफारीमा प्रयोग भइरहेको सहकारीले जनाएको छ। बिहान, दिउँसो र साँझ गरी विभिन्न समयमा सञ्चालन हुने हात्ती सफारी आन्तरिक तथा विदेशी पर्यटकबीच लोकप्रिय बनेको छ।

पर्यटन व्यवसायी अमित गुरुङका अनुसार करिब डेढ घण्टाको हात्ती सफारीका लागि आन्तरिक पर्यटकले एक हजार ६५० रुपैयाँ शुल्क तिर्नुपर्छ। हात्ती सफारीमार्फत पर्यटकले गैँडा, बाघ, बँदेल, गोही, बाँदरलगायत वन्यजन्तुको अवलोकन गर्ने अवसर पाउँछन्।

पर्यटन व्यवसायी आशिष रेग्मीका अनुसार कोभिड–१९ महामारीपछि हात्तीको किनबेच नभए पनि पुरानै हात्ती प्रयोग गरेर सफारी सञ्चालन भइरहेको छ। एउटा हात्तीको हेरचाह र व्यवस्थापनमा मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए।

चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु तथा चरा अवलोकनका लागि विश्वप्रसिद्ध मानिन्छ। राप्ती नदीमा डुङ्गा सयर, सूर्यास्त अवलोकन, जंगल सफारी तथा स्थानीय थारु समुदायको संस्कृति अवलोकन यहाँका प्रमुख पर्यटकीय गतिविधि हुन्।

पर्यटकको आगमन बढेसँगै स्थानीय होटल तथा रेष्टुराँ व्यवसाय पनि चलायमान बनेको छ। टिफिन होम एण्ड रेष्टुराँकी सञ्चालक स्वस्तीका भट्टका अनुसार पछिल्ला वर्षहरूमा चितवनमा वर्षभरि नै पर्यटकको उपस्थिति रहने गरेको छ।

पर्यटन व्यवसायीहरूका अनुसार दुईदिने सार्वजनिक बिदाको व्यवस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउन थालेको छ, जसको प्रत्यक्ष लाभ पर्यटन व्यवसायसँग आबद्ध स्थानीय समुदायले पनि पाउन थालेका छन्।