बजेटमाथि प्रतिनिधिसभामा मन्त्रालयगत छलफल सुरु

बजेटमाथि प्रतिनिधिसभामा मन्त्रालयगत छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ माथिको मन्त्रालयगत छलफल सुरु भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि विस्तृत छलफल प्रारम्भ गरिएको हो।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि सांसदहरूले धारणा राखिरहेका छन्।

सभामुख डोलप्रसाद अर्याल ले खर्च कटौतीका प्रस्ताव दर्ता गराएका सांसदहरूलाई आफ्नो प्रस्ताव प्रस्तुत गर्न तथा सम्बन्धित मन्त्रालयको बजेटमाथि धारणा राख्न समय प्रदान गरेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए। यसअघि बजेटमाथिको सैद्धान्तिक तथा सामान्य छलफल सम्पन्न भइसकेको छ भने अर्थमन्त्रीले उठेका प्रश्नहरूको जवाफ समेत दिइसकेका छन्। अब मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुँदै बजेट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।