

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव र सैन्य द्वन्द्व अन्त्य गर्न दुवै देश शान्ति सम्झौतामा सहमत भएका छन्। वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यसको औपचारिक घोषणा गरेका हुन्।
प्रधानमन्त्री सरिफले जारी गरेको विज्ञप्तिअनुसार अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारी बनेको छ र सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने तयारी गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग सम्झौता भएको जानकारी दिएका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत सम्झौताबारे पुष्टि गरेका छन्।
बेलायत, फ्रान्स, जर्मनी र इटाली सम्मिलित ई–४ समूहले संयुक्त विज्ञप्ति जारी गर्दै यस कूटनीतिक उपलब्धिको स्वागत गरेको छ। उनीहरूले अमेरिका, इरान, पाकिस्तान, कतार तथा वार्तामा संलग्न सबै पक्षलाई बधाई दिएका छन्।
सम्झौताअनुसार विश्व व्यापारका लागि रणनीतिक महत्व बोकेको होर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याइने भएको छ।
इरानका उपविदेशमन्त्री घरिबाबादीका अनुसार समझदारीपत्रको मस्यौदामा सहमति जुटाउन कतारी मध्यस्थकर्ताहरूको उपस्थितिमा तेहरानमा झण्डै १५ घण्टा लामो वार्ता भएको थियो। उनले अन्तिम सम्झौताअन्तर्गत आगामी ६० दिनसम्म थप वार्ता जारी रहने र इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषयलाई प्राथमिकताका साथ उठाइने बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्री सरिफले सम्झौताले लेबनानसहित विभिन्न क्षेत्रमा जारी सैन्य गतिविधि अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले पनि सम्झौतापछि तेल आपूर्ति र ढुवानी प्रणाली पुनः सामान्य अवस्थामा फर्किने बताएका छन्।
यद्यपि, सम्झौताका सबै प्रावधान र कार्यान्वयनका विस्तृत पक्षहरू भने अझै सार्वजनिक गरिएको छैन।