

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका छन्। दाङको घोराहीस्थित सभागृहमा सम्पन्न निर्वाचनमा कुल ५४२ मत खसेको थियो। प्रारम्भिक चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुनः निर्वाचनको सम्भावना देखिएको थियो।
तर, दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले शालिकरामलाई समर्थन जनाएपछि उनलाई विजयी घोषणा गरिएको हो।
शालिकराम घिमिरेले १९९ मत प्राप्त गरेका थिए भने गोपाल घिमिरेले ८७ मत ल्याएका थिए। शालिकराम पार्टी स्थापनाकालदेखि नै प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति पदमा कार्यरत थिए। अन्य उम्मेदवारमध्ये मधुप्रसाद अर्यालले १९, गणेश पौडेलले ८४, सांसद मञ्जु ज्ञवाली भुसालले ७१ र डा. राजकुमार सुवेदीले ८० मत प्राप्त गरेका थिए।