

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह फेरि प्रदेशस्तरीय भेलामा केन्द्रित हुने भएको छ। संस्थापन पक्षसँग सहमतिको प्रयास ठोस नतिजामा नपुगेपछि इतर समूहले संगठनात्मक गतिविधि तीव्र बनाउँदै प्रदेश भेलालाई प्राथमिकता दिन थालेको हो।
पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भोलि कोशी प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। भेला नेता कोइरालाको आह्वानमा हुन लागेको हो।
उक्त भेलामा प्रमुख अतिथिका रूपमा शेखर कोइराला सहभागी हुनेछन्। कार्यक्रममा विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बलबहादुर केसी, एनपी साउद, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा र राजीव कोइरालालगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
देउवा र कोइराला समूहले पहिलो पटक संयुक्त रूपमा प्रदेशस्तरीय भेला गर्न लागेको हो। यसअघि देउवा समूहले आयोजना गरेका भेलामा शेखर कोइराला सहभागी हुने गरेका थिएनन्।
यसैबीच, इतर समूहले काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा युवा भेला समेत आयोजना गरेको छ। क्रियाशील सदस्यता अद्यावधिक नगरेका कार्यकर्ताहरूलाई समेत भेलामा सहभागी गराइएको जनाइएको छ।
पछिल्लो समय संस्थापन र इतर समूहबीच सहमति प्रयास भइरहे पनि ठोस निष्कर्ष ननिक्लिएपछि इतर पक्षले प्रदेशस्तरीय भेलामार्फत दबाब बढाउने रणनीति लिएको बताइएको छ।
यसैबीच, संस्थापन पक्षले भने वार्ताको प्रयास जारी रहेको र सहमतिका लागि लचकता अपनाउन तयार रहेको जनाएको छ। तर विशेष महाधिवेशनसम्बन्धी विषयमा सहमति नजुट्दा विवाद कायमै रहेको नेताहरूको भनाइ छ।