सीमा विवादबारे बालेनको अभिव्यक्तिमा रास्वपाको धारणा माग्दै हर्क साम्पाङको खुला पत्र

सीमा विवादबारे बालेनको अभिव्यक्तिमा रास्वपाको धारणा माग्दै हर्क साम्पाङको खुला पत्र

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक धारणा माग गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै उनले खुला पत्र लेखेका छन्। फेसबुकमार्फत सार्वजनिक गरिएको पत्रमा साम्पाङले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले दिएको भनिएको अभिव्यक्तिप्रति पार्टीको धारणा स्पष्ट गर्न आग्रह गरेका छन्।

पत्रमा उल्लेख छ, ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे रास्वपाको आधिकारिक धारणा के हो भन्ने विषय सार्वजनिक गरिदिन अनुरोध गर्दछु।’

प्रधानमन्त्री शाहले संसदमा दिएको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाउनुपर्ने तथा उनले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने माग गरेका थिए। पछि परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा विषयबारे स्पष्टिकरण दिएपछि अवरोध हटेको थियो।