काठमाडौं । भारतसँगको सीमासम्बन्धी अभिव्यक्तिपछि चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दार्चुलास्थित अपी हिमालको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
शनिबार बिहान उनले अपी हिमालको बेस क्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडियो फेसबुकमा पोस्ट गरेका हुन्। भिडियोमा दार्चुला जिल्लास्थित अपी हिमाल क्षेत्रको दृश्य देखिन्छ।
सीमा विवादसँग जोडिएको संवेदनशील जिल्ला दार्चुलामा आधारित सामग्री सार्वजनिक भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहले पोस्टमा ‘अपी हिमाल बेस क्याम्प, दार्चुला (Api Himal, Base Camp Darchula)’ मात्र क्याप्सन लेखेका छन्। भिडियोको पृष्ठभूमिमा उनको गीत ‘जय महाकाली’ बजिरहेको देखिन्छ।
यसअघि संसद्मा भारतसँग मात्र नभई नेपालले पनि सीमावर्ती क्षेत्रमा भूमि गुमाएको अभिव्यक्ति दिएका कारण उनी विवादमा परेका थिए। त्यसपछि सार्वजनिक गरिएको यो भिडियोले सीमा र राष्ट्रिय भूभागप्रतिको सन्देश दिन खोजिएको रूपमा व्याख्या गरिएको छ।