

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन भएको छ। विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी स्वतः अध्यक्ष बनेका छन्।
शुक्रबार सम्पन्न इप्पानको वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित अधिकांश पदमा निर्वाचनको तयारी भए पनि अन्तिम समयमा विभिन्न पक्षबीच सहमति जुटेपछि कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी उत्तम लामा र बलराम खतिवडा समूहबीच सहमति भएपछि नेतृत्व चयन सर्वसम्मत ढंगले टुंगिएको हो।
कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो। उक्त निर्वाचनमा शंकर बस्याल २६७ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेल ले ८२ मत प्राप्त गरे।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम लामा, उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, सुसन कर्माचार्य, विक्रम विष्ट र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, टेकनाथ आचार्य महासचिव, कविता पोखरेल उपमहासचिव तथा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी सचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्गन लामिछाने निर्विरोध चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा निजी ऊर्जा क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा ऊर्जा उत्पादन विस्तारका विषयमा काम गर्ने अपेक्षा गरिएको छ।