

काठमाडौं । इजरायल रोजगारीका लागि आवश्यक अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा व्यवस्थापनमा गम्भीर प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेपछि इन्टरनेशनल क्वालिफिकेसन प्रालि (सीआईआईएन) ले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ।
परीक्षार्थीहरूले परीक्षा व्यवस्थापन प्रभावकारी नभएको, परीक्षा केन्द्रमा अव्यवस्था भएको तथा शुल्क अत्यधिक महँगो रहेको भन्दै सोमबार विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा झडपसमेत भएको थियो।
विवाद बढेपछि सीआईआईएनले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै निर्धारित भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो। कम्पनीले परीक्षाको नयाँ मिति, समय र अन्य व्यवस्थासम्बन्धी जानकारी पछि जारी गरिने अर्को सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ।