

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढाइने कार्यसूची रहेको छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको विषयमा सदनलाई जानकारी गराइनेछ। चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी जानकारी गराउने सम्भावित कार्यसूची पनि रहेको छ।
बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक पेश गर्ने लगायतका आर्थिक तथा बजेटसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।