फ्लाई दुबईले पोखरा-दुबई सिधा उडान सञ्चालन गर्ने, असोज ७ गतेदेखि दैनिक सेवा

फ्लाई दुबईले पोखरा-दुबई सिधा उडान सञ्चालन गर्ने, असोज ७ गतेदेखि दैनिक सेवा

गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई सिधा हवाई सेवा सञ्चालन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति प्रदान गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका सोमबार स्वीकृत भइसकेको छ। उनले असोज ७ गतेदेखि दैनिक रूपमा पोखरा–दुबई उडान सञ्चालन हुने जानकारी दिए।

फ्लाई दुबईको प्राविधिक टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, उडान सुरक्षासम्बन्धी मापदण्ड तथा सञ्चालन व्यवस्थाको स्थलगत निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेलगत्तै फ्लाई दुबईले उडान अनुमति पाएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिकालगायत विश्वका तीन सयभन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुनेछ।

उनले यो केवल एउटा नयाँ हवाई सेवा थपिएको विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार तथा काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने महत्वपूर्ण अवसर भएको बताए।

करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरी १ मा उद्घाटन गरिएको थियो। तर हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि उक्त सेवा लामो समय टिक्न सकेको थिएन।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएपछि पर्यटन व्यवसायीहरूले पोखरामा विदेशी पर्यटकको आगमन बढ्ने, पर्यटन व्यवसाय विस्तार हुने तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग पोखराको प्रत्यक्ष पहुँच स्थापित हुने अपेक्षा गरेका छन्।