लगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २०.२७ अंकले ओरालो

लगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २०.२७ अंकले ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। लगातार चौथो दिन बजार ओरालो लागेसँगै नेप्से २७३५ अंकमा झरेर बन्द भएको छ।

कारोबार सुरु भएको केही मिनेटमै घट्न थालेको बजार दिनभरि नै दबाबमा रह्यो। आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ।

समूहगत सूचकतर्फ फाइनान्स समूहबाहेक सबै समूहमा गिरावट देखिएको छ। फाइनान्स समूह ०.२६ प्रतिशतले बढ्दा व्यापार समूह १.७७ प्रतिशत, अन्य समूह १.५० प्रतिशत, विकास बैंक १.०३ प्रतिशत, जलविद्युत् ०.९५ प्रतिशत, निर्जीवन बीमा ०.८३ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जीवन बीमा ०.५४ प्रतिशत, माइक्रोफाइनान्स ०.५२ प्रतिशत, बैंकिङ ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशत तथा लगानी समूह ०.३८ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १३.११ प्रतिशत, सोपान फर्मास्युटिकल्स ९.९८ प्रतिशत र सामुदायिक लघुवित्त ८.८५ प्रतिशतले बढेका छन्।

घट्ने कम्पनीतर्फ उपकार लघुवित्तको सेयर मूल्य ७.१४ प्रतिशतले घटेको छ। सयपत्री हाइड्रोपावर ६.०१ प्रतिशत र सूर्यकुण्ड हाइड्रो ३.७१ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।