सगरमाथा आधार शिविर क्षेत्रमा हराएका पर्यटन श्रमिक जीवितै उद्धार

सगरमाथा आधार शिविर क्षेत्रमा हराएका पर्यटन श्रमिक जीवितै उद्धार

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला परेका छन्। उनको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको हो। हिउँका कारण हातखुट्टा प्रभावित भएको अवस्थामा फेला परेका उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

एक सातासम्म सम्पर्कविहीन रहेका शेर्पा जीवितै भेटिएपछि पर्वतारोहण क्षेत्रमा यसलाई असाधारण र चमत्कारपूर्ण उद्धारका रूपमा हेरिएको छ।

कठोर हिमाली मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच लामो समय हराएका व्यक्तिको जीवित उद्धार हुनुले उद्धार टोलीको प्रयास तथा शेर्पाको अदम्य साहसलाई उजागर गरेको पर्वतारोहण क्षेत्रका जानकारहरूले बताएका छन्। उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकीय परीक्षणपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ।