

काठमाडौँ । गुजरात टाइटन्स ले राजस्थान रोयल्स लाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थानमाथि प्रभावशाली जित निकाल्दै गुजरातले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरु सँगको भेट पक्का गरेको हो। फाइनल खेल आइतबार हुनेछ।
पहिलो क्वालिफायरमा बेंगलुरुसँग ९२ रनले पराजित भएपछि गुजरात दोस्रो क्वालिफायर खेल्न बाध्य भएको थियो। यता राजस्थानले एलिमिनेटरमा सनराइजर्स हैदराबाद लाई ४७ रनले हराउँदै अन्तिम चारको यात्रा लम्ब्याएको थियो।
न्यु चण्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २१४ रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशी ले ९६ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै रवीन्द्र जडेजा ले ४५ तथा दोनोभन फेरेरा ले ३८ रनको योगदान दिए।
२१५ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले १८.४ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कप्तान शुभमन गिल ले अविजित १०४ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई फाइनलमा पुर्याए।
उनलाई साइ सुदर्शन ले ५८ रन बनाएर राम्रो साथ दिए। साथै राहुल तेवतिया ले १७ र वासिङ्टन सुन्दर ले १६ रन थप्दै जित सुनिश्चित गरे। योसँगै गुजरातले उपाधि भिडन्तमा बेंगलुरुसँग प्रतिस्पर्धा गर्ने भएको छ।