एसियाली खेलकुद छनोटको सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै

एसियाली खेलकुद छनोटको सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज घरेलु टोली मलेसिया सँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित वायोमास ओभल मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मलेसिया समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । आजको खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ र यही वर्ष जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि प्रत्यक्ष छनोट हुनेछ ।

यद्यपि सेमिफाइनलमा पराजित भए पनि नेपालसँग एसियाली खेलकुदमा स्थान बनाउने अर्को अवसर रहनेछ । त्यसका लागि तेस्रो स्थानका लागि हुने खेलमा जित निकाल्नुपर्नेछ ।

नेपाली महिला टोली भने मलेसियामाथि जित निकाल्दै सिधै एसियाली खेलकुदको टिकट सुरक्षित गर्ने लक्ष्यमा रहेको छ । प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली तथा तेस्रो स्थान हासिल गर्ने टोली एसियाली खेलकुदका लागि छनोट हुने व्यवस्था छ । समूह चरणमा नेपालले चिली लाई १९ रनले तथा इन्डोनेसिया लाई ४ विकेटले पराजित गर्दै अपराजित रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो ।