

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो हालसम्मकै सबैभन्दा ठूलो बजेट हो। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्ले ले आगामी आवको आय र व्ययको अनुमान सार्वजनिक गरेका हुन्।
सरकारले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ५९.८ प्रतिशत विनियोजन गरेको छ। यस्तै पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट छुट्याइएको छ।
सरकारले ल्याएको यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशतले बढी रहेको अर्थमन्त्री वाग्लेले बताए।
यसअघि चालू आर्थिक वर्ष २०८२/०८३ का लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमा चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
तर २०८२ भदौमा भएको जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले उक्त बजेट कार्यान्वयन गरेको थियो। सो सरकारका अर्थमन्त्री रामेश्वर खनाल ले अर्धवार्षिक समीक्षामार्फत बजेट पूर्ण रूपमा खर्च नहुने संशोधित अनुमान सार्वजनिक गरेका थिए। अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षाअनुसार चालू आर्थिक वर्षमा प्रारम्भिक विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ। यसअनुसार कुल १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ।