

काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली देखिएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेको छ ।
आज राति पनि लुम्बिनी र सुदूरपश्चिमसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई तथा पहाडी क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।