काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई राजनीतिक अधिकार सुनिश्चित गर्नुका साथै साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको उल्लेख गरे ।
उनले गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिप्रति स्वामित्वको अनुभूति गराएको भन्दै यसलाई राष्ट्र निर्माणको महत्वपूर्ण प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने उल्लेख गर्दै सुशासन, जिम्मेवार नेतृत्व र प्रभावकारी कार्यशैलीमार्फत जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए ।