

काठमाडौं । आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै संयुक्त राज्य अमेरिका ले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति अघि बढाइरहेका बेला विश्वकपलाई सफल बनाउन विशेष छुटको व्यवस्था गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार विश्वकपमा सहभागी टोलीका सदस्य तथा प्रतियोगितामा छनोट भएका देशका टिकट प्राप्त समर्थकहरूलाई भिसा बन्ड अनिवार्य नहुने जनाएको छ । यस्तो सुविधा लिन समर्थकहरूले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ ।
हालै लागू गरिएको नयाँ आप्रवासन नीतिअनुसार करिब ५० विकासशील देशका नागरिकलाई अमेरिकी भिसा प्राप्त गर्न पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म बन्ड रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । अमेरिका भ्रमणपछि निर्धारित समयमै आफ्नै देश फर्किएमा उक्त रकम फिर्ता गरिने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
तर विश्वकपलाई ध्यानमा राख्दै अब केही श्रेणीका यात्रुहरूलाई यस व्यवस्थाबाट छुट दिइने भएको हो । अमेरिकी विदेश मन्त्रालयकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदार ले विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि सुदृढ बनाइने बताइन् ।
उनले भनिन्, “हामी आगामी विश्वकप प्रतियोगिताका लागि वैध यात्राको सुविधा दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा प्राथमिकताहरूलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौँ ।”
फिफा ले पनि अमेरिकी निर्णयको स्वागत गरेको छ । फिफाले अमेरिकी सरकार र ह्वाइट हाउस टास्क फोर्ससँगको सहकार्यले विश्वकपलाई सफल, रेकर्ड कायम गर्ने र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरेको छ ।
यद्यपि सहजता दिइए पनि केही देशका समर्थकहरू अझै कठिनाइमा पर्ने देखिएको छ । विश्वकपमा छनोट भइसकेका अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसिया का नागरिक अझै भिसा बन्ड नीतिबाट प्रभावित हुनेछन् ।
त्यस्तै विश्वकपमा छनोट भएका हाइटी र इरान का नागरिकमाथि भने ट्रम्प प्रशासनले लगभग पूर्ण प्रवेश प्रतिबन्ध लगाएको छ ।
विशेषगरी अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य तनावपछि इरानी नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको बताइएको छ ।
यसबीच, मेन्डोजा ल फर्मले गरेको अध्ययनले हाइटीका समर्थकहरू भिसा प्रतिबन्धका कारण विश्वकप हेर्न अमेरिका पुग्न नसक्ने अवस्था आउन सक्ने निष्कर्ष निकालेको छ । अध्ययनअनुसार हाइटीले आफ्ना खेलहरू घरेलु समर्थकविहीन अवस्थामा खेल्नुपर्ने सम्भावना देखिएको छ ।
त्यस्तै बन्ड व्यवस्थाबाट प्रभावित पाँच अफ्रिकी देशका नागरिकका लागि १५ हजार डलर रकम औसत तीन वर्षको आम्दानी बराबर हुने अध्ययनले देखाएको छ । यसले धेरै समर्थकलाई अमेरिका यात्रा गर्न आर्थिक रूपमा असम्भवजस्तै बनाउने विश्लेषण गरिएको छ ।
फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि सुरु हुनेछ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको ले संयुक्त रूपमा आयोजना गर्दैछन् ।