एस. जयशंकरलाई नेपाल भ्रमणको निम्ता, मिति आपसी सहमतिमा तय हुने

एस. जयशंकरलाई नेपाल भ्रमणको निम्ता, मिति आपसी सहमतिमा तय हुने

काठमाडौं । नेपाल सरकारले भारतीय विदेशमन्त्री  एस.जयशंकरलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएको छ । भारतीय परराष्ट्र मन्त्रालयका अनुसार गत चैत २७ गते मोरिसस भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले आफ्ना भारतीय समकक्षी जयशंकरलाई नेपाल आउन निमन्त्रणा दिएका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले मंगलबार आयोजित प्रेस ब्रिफिङमा उक्त निम्ताको पुष्टि गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट आपसी सहमतिमा तय गरिने जानकारी दिए ।

मोरिससमा भएको भेटवार्ताका क्रममा दुई देशबीच द्विपक्षीय हित, आर्थिक सहकार्य तथा कनेक्टिभिटीका विषयमा छलफल भएको बताइएको छ । दुवै मन्त्री नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिसस पुगेका बेला साइडलाइन वार्ता गरेका थिए ।

प्रवक्ता जैसवालले नेपाल–भारत सम्बन्धलाई बहुआयामिक र ऐतिहासिक सम्बन्धका रूपमा व्याख्या गर्दै भारतले यसलाई अझ न्यानो र परिणाममुखी बनाउन चाहेको बताए ।

उनले भने, “नेपालमा निर्वाचनपछि नयाँ सरकार गठन भएको छ । हाम्रा प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग संवाद गर्नुभएको छ । नेपाल–भारतबीच पुरानो, पारिवारिक र जीवन्त सम्बन्ध रहेको छ, यसलाई अझ सुदृढ बनाउन हामी प्रतिबद्ध छौँ ।”

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो । भारतीय पत्रकारहरूले सोही विषयमा प्रश्न उठाएपछि प्रवक्ता जैसवालले नेपाल भ्रमणको निम्ताबारे जानकारी दिएका हुन् ।