बिहीबार संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने

बिहीबार संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद् बैठकमा प्रस्तुत गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्।

उनले बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि सांसदहरूले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेट निर्माणमा समावेश गर्ने बताए। अर्थमन्त्री वाग्लेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरै हदसम्म मेल खाने पनि उल्लेख गरे।

उनले बजेटका लागि विभिन्न सांसदहरू अर्थ मन्त्रालयमा माग लिएर आउने क्रम अझै जारी रहेको जानकारी दिँदै नयाँ सरकार गठन हुनुअघि नै बजेटको सिलिङ पठाइसकिएकाले अहिले खर्च गर्ने ‘स्पेस’ सीमित रहेको बताए। कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिनअघि बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ।