

काठमाडौं । विश्वमा महिला सुरक्षाका दृष्टिले अफगानिस्तान सबैभन्दा असुरक्षित देश बनेको छ । ‘वर्ल्ड पपुलेसन रिभ्यू’ले सार्वजनिक गरेको ‘पिस एन्ड सेक्युरिटी इन्डेक्स’ सम्बन्धी प्रतिवेदनअनुसार सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि संसारकै सबैभन्दा जोखिमपूर्ण देश बनेको हो ।
महिलाका लागि सबैभन्दा खतरनाक देशहरूको सन् २०२६ को सूचीमा यमन दोस्रो स्थानमा रहेको छ ।
प्रतिवेदनमा युद्ध, राजनीतिक अस्थिरता तथा कट्टर सामाजिक मान्यताका कारण धेरै देशमा महिलाको जीवन अत्यन्त जोखिमपूर्ण बनेको उल्लेख गरिएको छ । महिला सुरक्षा सूचकाङ्कमा अफगानिस्तान ० दशमलव २७९ अङ्कसहित सबैभन्दा पुछारमा परेको छ ।
अफगानिस्तानमा महिलाको सार्वजनिक जीवनमा सहभागिता लगभग शून्य बराबर रहेको तथा उनीहरूमाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको प्रतिवेदनमा उल्लेख छ । शिक्षा र रोजगारीजस्ता आधारभूत अधिकारसमेत स्थानीय नीतिमा निर्भर रहँदा महिलाको स्वतन्त्रता लगभग समाप्त भएको जनाइएको छ ।
सूचीमा दोस्रो स्थानमा रहेको यमनले ० दशमलव ३२३ अङ्क प्राप्त गरेको छ । त्यहाँ लामो समयदेखि जारी गृहयुद्धका कारण स्वास्थ्य सेवा तथा पूर्वाधार प्रणाली गम्भीर रूपमा प्रभावित बनेको उल्लेख गरिएको छ ।
त्यसपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक (० दशमलव ३६२), सिरिया (० दशमलव ३६४) र कङ्गो लोकतान्त्रिक गणतन्त्र (० दशमलव ३८४) क्रमशः रहेका छन् ।
सिरियामा वर्षौँदेखि जारी द्वन्द्वले महिलाहरूलाई विस्थापन, हिंसा तथा मानसिक तनावतर्फ धकेलेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, सुडान (० दशमलव ३९७) र दक्षिण सुडान (० दशमलव ४११) जस्ता देशमा राजनीतिक अस्थिरता तथा आर्थिक सङ्कटका कारण महिलाको जीवन थप चुनौतीपूर्ण बनेको जनाइएको छ ।
विज्ञहरूका अनुसार यो श्रेणीकरण केवल तथ्याङ्क मात्र नभई ती लाखौँ महिलाको वास्तविक पीडाको चित्रण हो, जो हरेक दिन डर, असुरक्षा र विस्थापनबीच जीवन बिताइरहेका छन् ।
प्रतिवेदनअनुसार महिलाका लागि सबैभन्दा असुरक्षित देशहरूको सूचीमा प्रायः द्वन्द्वग्रस्त क्षेत्र, कमजोर शासन व्यवस्था तथा प्रभावहीन सुरक्षा प्रणाली भएका राष्ट्रहरू पर्ने गरेका छन् ।
यद्यपि, नेपालको अवस्था ती युद्धग्रस्त देशहरूको तुलनामा राम्रो देखिएको छ । सूचीमा नेपाल १२०औँ स्थानमा रहेको छ ।
तर, चुनौतीहरू भने अझै कायम छन् । सन् २०२३ को तुलनामा नेपालको अवस्था केही खस्किएको देखिएको छ । नेपालको अङ्क ० दशमलव ६४४ बाट घटेर ० दशमलव ६३१ पुगेको प्रतिवेदनमा उल्लेख छ ।