म्याग्दीमा ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दीमा ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा निर्माण हुन लागेको ९ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु गरिएको छ ।

सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाले नारच्याङस्थित घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थलसम्म जोड्ने पहुँचमार्ग निर्माण थालेको हो ।

आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईका अनुसार कुल ५ दशमलव ५ किलोमिटर पहुँचमार्गमध्ये हालसम्म दुई किलोमिटर निर्माण सम्पन्न भएको छ । साथै कर्मचारी आवासका लागि भवन निर्माणको काम पनि सकिएको उनले जानकारी दिए ।

उनका अनुसार अहिले विद्युत्गृह निर्माणस्थलसम्म सडक पुर्याउने र आवश्यक जमिन तयार पार्ने काम भइरहेको छ । पहुँचमार्ग निर्माण सम्पन्न भएपछि बाँध, विद्युत्गृह, पेनस्टक पाइपलाइन तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाइने तयारी गरिएको छ ।

करिब एक अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट बाँधस्थलदेखि ४ दशमलव २ किलोमिटर दूरीबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई ४२० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गरिने जनाइएको छ ।

आयोजनाका लागि आवश्यक सबै जग्गा सार्वजनिक रहेको बताइएको छ । निर्माण क्षेत्रमा पर्ने एक हजार ४ सय रूखमध्ये ५ सय ४६ वटा रूख कटानको अनुमति प्राप्त भइसकेको छ भने बाँकी प्रक्रिया अघि बढाइएको छ ।

आयोजनाले वित्तीय स्रोत व्यवस्थापनका लागि ग्लोबल आइएमई र माछापुच्छ्रे बैङ्क लिमिटेडसँग प्रस्ताव गरेको जनाएको छ । कुल लगानीमध्ये ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी रहनेछ । साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर लगानीको अवसर प्रदान गरिने भएको छ ।

नारच्याङ क्षेत्रमा हाल १ सय ६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । थप ६३ दशमलव ३ मेगावाट क्षमताको एक आयोजना निर्माणाधीन अवस्थामा रहेको छ भने १ सय ७३ दशमलव १४ मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका छन् ।

वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ तथा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।

यसैगरी, नारच्याङको सिमानाबाट बग्ने कालीगण्डकी नदीमा ६६ दशमलव ३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १ सय ८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना पनि निर्माण तयारीमा रहेको जनाइएको छ ।