बजेट अधिवेशन आजदेखि सुरु हुँदै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।

आजको बैठकमा राष्ट्रपति राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरूलाई अपराह्न ३ः४५ बजेसम्म प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन), सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको छ ।

यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइनेछ । साथै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे पनि सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत नियम २६० बमोजिम जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची पनि तय गरिएको छ ।

यसैबीच सरकारले जारी गरेका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठवटा अध्यादेश संसद्मा पेस गरिने संसद् सचिवालयले जनाएको छ ।

उक्त अध्यादेशहरू राष्ट्रियसभाको बैठकमा पनि प्रस्तुत गरिनेछ ।