

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवका लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ। चैत महिनामा मात्रै एक अर्ब ६० करोड ६८ लाख ४७ हजार रुपैयाँ संकलन भएको छ, जुन मासिक लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो।
कार्यालयको तथ्याङ्कअनुसार साउनमा एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
त्यसैगरी मंसिरमा एक अर्ब ३६ करोड ७४ हजार, पुसमा एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा एक अर्ब ६५ करोड ८० लाख चार हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ।
चालु आवको अन्त्यसम्म लक्ष्य पूरा गर्न आगामी महिनाहरूमा राजश्व संकलनको गति अझ बढाउनुपर्ने देखिएको छ।